अमेरिकी प्रभाव कमजोर, विश्वव्यापी रिजर्भमा युरो र युआनको उदय

काठमाडौं — विश्वका केन्द्रीय बैंकहरू आफ्नो विदेशी मुद्राको सञ्चितिमा डलरको हिस्सा घटाउँदै सुन, युरो र चिनियाँ युआनजस्ता वैकल्पिक सम्पत्तीतर्फ आकर्षित भइरहेका छन्। विश्व व्यापारको विभाजन, भूराजनीतिक अस्थिरता र अमेरिकी नीतिका कारण केन्द्रीय बैंकहरू आफ्नो रिजर्भ रणनीति पुनर्विचार गर्दै छन्।

मौद्रिक तथा वित्तीय संस्थाहरूको मञ्च (OMFIF) को हालैको प्रतिवेदनअनुसार ५ ट्रिलियन डलरभन्दा बढी सम्पत्ति व्यवस्थापन गरिरहेका केन्द्रीय बैंकमध्ये करिब एक तिहाइले आगामी एकदेखि दुई वर्षभित्र सुनमा लगानी बढाउने योजना बनाएका छन्। पछिल्लो पाँच वर्षमा यो दर सबैभन्दा उच्च हो।

अप्रिल २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको भन्सार शुल्कका कारण बजारमा अस्थिरता बढ्दा डलर र अमेरिकी ट्रेजरी बन्डको मूल्यमा गिरावट आएको थियो। यही कारणले गर्दा पनि डलरको सुरक्षित आश्रयको छवि धमिलिएको हो।

अब केन्द्रीय बैंकहरू सुनजस्तो दीर्घकालीन मूल्य स्थायित्व भएको सम्पत्तितर्फ आकर्षित छन्। आगामी दशकमा करिब ४० प्रतिशत केन्द्रीय बैंकहरूले सुनको भण्डारण अझ बढाउने संकेत दिएका छन्।

यही सर्वेक्षणअनुसार, विगत वर्षसम्म सबैभन्दा लोकप्रिय रहेको डलर अब सातौं स्थानमा झरेको छ। सहभागी बैंकमध्ये ७० प्रतिशतले अमेरिकी राजनीतिक अस्थिरताका कारण डलरप्रति विश्वास घटेको जनाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो।

मुद्रा विविधीकरणको सन्दर्भमा युरो र युआन सबैभन्दा बढी फाइदामा देखिएका छन्। सर्वेक्षणमा सहभागी १६ प्रतिशत बैंकहरूले आगामी १२–२४ महिनाभित्र युरोको सञ्चिति बढाउने जनाएका छन्, जुन अघिल्लो वर्षको ७ प्रतिशतभन्दा झन्डै दोब्बर हो। दीर्घकालीन दृष्टिकोणमा युआन अझ आकर्षक बनेको छ, जहाँ ३० प्रतिशत बैंकहरूले युआन सञ्चिति बढाउने योजना बनाएका छन्।

विश्वव्यापी मुद्रा रिजर्भमा युआनको हिस्सेदारी ६ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ, जुन हालको भन्दा तीनगुणा वृद्धि हो। अर्कोतर्फ, युरोले २०११ को ऋण संकटपछि गुमाएको हिस्सेदारी दशकको अन्त्यसम्म पुनः प्राप्त गर्ने सम्भावना देखिएको छ।

सन् २०३५ सम्म डलरको हिस्सा घटेर ५८ बाट ५२ प्रतिशतमा झर्ने अनुमान छ, तर अझै पनि डलर नै अग्रणी रहनेछ। उता, युरोको हिस्सा २२ प्रतिशतसम्म पुग्ने OMFIF को अनुमान छ।

हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा पूर्व IMF अर्थशास्त्री केनेथ रोगोफका अनुसार, डलरको हैसियत घट्दै जाँदा युरोको स्थान स्वतः बलियो हुँदै गएको हो। युरोपले आफ्नो बन्ड बजार विस्तार गर्न सकेमा र पुँजी बजारलाई एकीकृत गर्न सकेमा युरोको हिस्सा छिटो बढ्न सक्ने विश्लेषकहरू बताउँछन्।

युरोपेली केन्द्रीय बैंककी प्रमुख क्रिस्टिन लागार्डले पनि युरोलाई डलरको वैकल्पिक मुद्रा बनाउन जोड दिएकी छन्। UBS Asset Management का रणनीतिज्ञ म्याक्स कास्टेलीले पनि युरोले सन् २०२० को दशकको अन्त्यसम्म २५ प्रतिशत हिस्सा ओगट्न सक्ने यथार्थपरक सम्भावना रहेको बताएका छन्।

यसैबीच, युरोप अमेरिकामाथिको रक्षा निर्भरता घटाउँदै खर्च बढाउँदैछ र पुँजी बजार एकीकरणको पहल पनि गरिरहेको छ। यसले युरोलाई अझ प्रतिस्पर्धी बनाउन सक्छ।

पूर्व युरोपेली केन्द्रीय बैंकका अधिकारी फ्रान्चेस्को पापाडियाले समेत युरोले आगामी दुई वर्षमै २५ प्रतिशत हिस्सेदारीमा पुग्ने सम्भावना रहेको जनाएका छन्। चीनका पूर्व केन्द्रीय बैंक प्रमुखले पनि युरोको भूमिका विस्तार हुन सक्ने बताएका छन्, तर अझ केही तयारी आवश्यक रहेको संकेत दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय