प्रवेश गर्ने प्रमुख नाका आँबुखैरेनी–गोरखा सडक खण्डमा यात्रुहरू लामो दूरी पैदलै हिँड्न बाध्य भएका छन्। चर्को घाम र तातो पिच सडकमा पसिना चुहाउँदै गह्रुंगा झोला बोकेर यात्रा गरिरहेका यात्रुहरूको दृश्य सडकमा सामान्यजस्तै देखिएको छ।
यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा यातायात बन्द गरेका हुन्। तर, बन्दकै क्रममा केही रातो नम्बर प्लेटका गाडीले यात्रु ओसारिरहेको देखिएको छ। बन्दकै सिलसिलामा शुक्रबार गोरखामा यात्रुवाहक बसमाथि आक्रमण भएको छ। ड्युटीमै खटिएको सुरक्षाकर्मीको अगाडि करिब २०–३० जनाको समूहमा आएका व्यक्तिहरूले काठमाडौँबाट यात्रु ल्याइरहेको बा ५ ख ५३९९ नम्बरको बसमा तोडफोड गरेका छन्। बसको अगाडिको सिसा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बचाउ संघर्ष समिति गठन गर्दै प्रदेश सरकारले निर्णय फिर्ता नगरेसम्म गण्डकीभर र त्यसपछि देशभर नै बन्द गर्ने चेतावनी दिएका छन्।
यसैबीच, गोरखा प्रहरी प्रमुख एसपी भरत विकले सार्वजनिक सेवा सञ्चालनमा कसैले अवरोध गर्न नपाउने स्पष्ट पारेका छन्। ‘कानुनतः सवारी निर्वाध रूपमा चल्न पाउने हो। त्यसको सुनिश्चितता हामी गर्छौं,’ उनले भने।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड सेयरिङ सेवाले सार्वजनिक यातायातसँग प्रतिस्पर्धा नगर्ने बताए। ‘राइड सेयरिङ लामो दूरीको सेवा होइन, २० किलोमिटरभित्र मात्र सीमित छ,’ उनले भने, ‘त्यसैले यसलाई प्रतिस्पर्धाको रूपमा लिनु गलत हो।’
मुख्यमन्त्री पाण्डेले काठमाडौं, पोखरा लगायतका क्षेत्रमा र ‘पठाओ’को नाममा भइरहेको राइड सेयरिङ सेवा कानुनबाहिर चलिरहेको उल्लेख गर्दै त्यसलाई कानुनी दायरामा ल्याउन नियमावली बनाइएको स्पष्ट पारे। उनका अनुसार यसबाट यात्रुको सुरक्षा, बिमा सुनिश्चितता र राज्यलाई कर आम्दानी हुनेछ। उनले प्रतिस्पर्धा नहुँदा सिन्डिकेटको जोखिम रहने र प्रतिस्पर्धा बढेमा यात्रुहरूलाई गुणस्तरीय सेवा प्राप्त हुने पनि बताए।