पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले बिहीबार आदेश दिएको छ। न्यायाधीश नीतिज राईको एकल इजलासले सूर्यदर्शन बचत तथा ऋण सहकारी कोष अपचलनसम्बन्धी मुद्दामा उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
रवि लामीछाने गत कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए र त्यसपछि कास्की प्रहरीको हिरासतमा राखिएका थिए। अदालतले यही मुद्दामा पूर्वडिआइजी छविलाल जोशीलाई पनि ८८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सहकारी रकम अपचलनमा संलग्न भएको आरोपमा सहकारीका अन्य अधिकारीहरू पनि धरौटीमा रिहा भएका छन्। पूर्वसांसद तथा सहकारीका संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ, र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङ लगायतका अभियुक्तलाई पनि अदालतले धरौटीमा छाड्न अनुमति दिएको हो।
सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गर्दै सूर्यदर्शन सहकारीका १८,७०० बचतकर्ताको कुल १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरिएको दाबी गरेको थियो।