काठमाडौं : पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुईजना पूर्वमन्त्रीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार विशेष अदालत काठमाडौंमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख अधिकृत रामचन्द्र अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो र सजायको माग गरिएको छ।
यसै मुद्दामा घरजग्गा व्यवसायी तथा बिचौलिया सुजन कुमार तामाङ, खेम पुन (खमबहादुर पुन), याम कुमारी गुरुङ र तुलसी बुढा मगरलाई पनि प्रतिवादी बनाइएको छ। अनुसन्धानका क्रममा घुस र कमिसनको रकम आदान–प्रदान भएको प्रमाण खुलेको आयोगले जनाएको छ।
अनुसन्धानअनुसार मन्त्री गुप्ता, रञ्जिता श्रेष्ठ र सुजन तामाङले जग्गा हेर्ने काम गरेका थिए। करार सम्झौता भएपछि सुजन तामाङको नाममा रहेको गरिमा विकास बैंकको खातामा तुलसी बुढा मगरले ७५ लाख रुपैयाँ जम्मा गरेको खुलेको छ।
त्यस्तै, सो प्रकरणमा मुछिएका तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि पनि छुट्टै मिसिल बनाएर अनुसन्धान गर्न आयोगले निर्देशन दिएको छ। अधिकारीमाथि ३२ लाख रुपैयाँ घुस लिएको आरोप छ।
पोखराको बाटुलेचौरस्थित लिची बगान क्षेत्रको १३४ रोपनी जग्गा हडप्न गुप्ता, नाउपा अध्यक्ष श्रेष्ठ र बिचौलिया सुजन तामाङबीच भएको घुसको अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट प्रमाणित भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका थिए।