जम्मु कश्मीरको आक्रमणमा बुटवलका सुदीप न्यौपानेको मृत्यु

भारतको जम्मु कश्मीरमा पर्यटकमाथि लक्षित आतंकवादी आक्रमणमा परेर एक नेपाली युवकको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका–१४ निवासी २७ वर्षीय सुदीप न्यौपानेको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। सुदीप हाल बुटवल–१० कालिकानगरमा आमासँगै बस्दै आएका थिए। वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार सुदीप बेलभोरियाको स्थायी बासिन्दा हुन्।

परिवारका अनुसार उनी गत शनिबार दिदी र भिनाजुसँग मिलेर घुम्नका लागि कश्मीर गएका थिए। आक्रमणमा अन्य परिवार सदस्य भने सकुशल रहेको मृतकका मामा गोपाल भण्डारीले जनाएका छन्। घटनापछि सुदीपको शव बुधबार दिउँसो १ बजे नेपाल ल्याउने तयारी भइरहेको छ भने परिवारका सदस्यहरू काठमाडौं पुगिसकेका छन्। तर, सरकारी निकायबाट सहयोग र समन्वयको पहल नदेखिएको परिवारले गुनासो गरेको छ।

उक्त आक्रमण मंगलबार दिउँसो ३ बजेतिर बैसरन उपत्यकामा भएको थियो, जहाँ एक नेपालीसहित कम्तीमा २७ जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया