काठमाडौँ । केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भएकाले त्यसलाई स्वीकार गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको उल्लेख गरेका हुन्।
उनले मतदातालाई धन्यवाद दिँदै जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्। साथै सूर्य चिन्हमा मतदान गरेर पार्टीलाई साथ दिने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक तथा समर्थकप्रति कृतज्ञता व्यक्त गरेका छन्।
ओलीले निर्वाचन परिणाम एमालेको पक्षमा पूर्ण रूपमा नआए पनि जनताप्रतिको जिम्मेवारी र सेवा गर्ने प्रतिबद्धता कमजोर नहुने बताएका छन्। आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।