काठमाडौं — निर्वाचन आयोग नेपाल ले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ।
आयोगका अनुसार आइतबारदेखि यो कार्यक्रम सुरु हुनेछ। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नेपाली नागरिकले उक्त नम्बरका आधारमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सक्नेछन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार राष्ट्रिय परिचयपत्र नम्बर नलिएका नागरिकले पनि अनलाइनमा विवरण भरेर फोटो तथा औँठाछापसहितको जैविक विवरण उपलब्ध गराउनुपर्नेछ।
यसका साथै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने आयोगले जनाएको छ।