नेपालमा इन्टरनेट सेवा प्रदान गर्ने अग्रणी कम्पनी डिशहोम इन्टरनेटले नेपाली फिल्म क्षेत्रकी उदाउँदी अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसेडरको रूपमा नियुक्त गरेको छ। यो सम्झौता हालै भैंसेपाटीस्थित डिशहोमको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममार्फत सम्पन्न भएको हो। कार्यक्रममा डिशहोम इन्टरनेटका प्रमुख बजार अधिकृत (CMO) संजय प्रसाद राजभण्डारी र अभिनेत्री रायमाझीबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको थियो।
नयाँ पुस्तामा लोकप्रियता कमाएकी दिव्या रायमाझीको ताजगीपूर्ण छवि र डिजिटल प्रविधिप्रतिको चासोलाई कम्पनीले आफ्नो ब्रान्डको उद्देश्यसँग जोड्दै उनलाई प्रतिनिधिको रूपमा रोजेको हो। डिशहोम इन्टरनेटले डिजिटल कनेक्टिभिटीलाई प्रविधिको सीमाभन्दा बाहिर पुर्याई युवापुस्ताको सोच, आत्मविश्वास र प्रेरणासँग जोड्ने लक्ष्य लिएको बताएको छ।
ब्रान्ड एम्बेसेडर नियुक्तिपछि दिव्या रायमाझीले प्रतिक्रिया दिँदै भनिन्, "डिशहोम इन्टरनेटजस्तो छिटो प्रगति गरिरहेको ब्रान्डको प्रतिनिधित्व गर्नु मेरो लागि गर्वको कुरा हो। यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको आरम्भ पनि हो।"
हाल डिशहोम इन्टरनेटले ३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ। साथै, “माई डिशहोम” मोबाइल एपमार्फत ग्राहक सेवा प्रवाहलाई अझ प्रभावकारी र सरल बनाइएको छ। दिव्या रायमाझीसँगको सहकार्यबाट कम्पनीले युवासँगको सम्बन्ध थप बलियो बनाउने र डिजिटल पहुँचलाई अझ विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ।