रवि लामिछानेको सहकारी ठगी प्रकरणमा प्रहरीले पूरक मुद्दा दर्ता गर्दै

काठमाडाैं - रवि लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा कानुनी अनुसन्धान अघि बढाइएको छ। पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई सहकारी ठगी आरोपमा पोखराको कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो। उनलाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट नियन्त्रणमा लिई स्थलमार्ग हुँदै शनिबार पोखरा ल्याएको थियो।

लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न भएको आरोप लागेको छ। प्रहरीका अनुसार लामिछानेले सहकारीको रकमलाई गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ, जसको तत्कालीन प्रबन्ध निर्देशक उनी नै थिए। संसदीय छानबिन समितिले पनि सहकारीको बचत अपचलन गरेको ठहर गर्दै उनीविरुद्ध अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो। संसदीय प्रतिवेदनले गोर्खा मिडियामा उनले पाएको भनिएको ‘स्वेट सेयर’ लाई किर्ते भनेको छ। समितिले लामिछानेसहित अन्य व्यक्तिहरूले सहकारी ठगी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धीकरणजस्ता गतिविधिमा संलग्न रहेको जनाएको छ।

प्रहरीले लामिछानेसँग सम्बन्धित पूरक मुद्दामा अनुसन्धान गरिरहेको बताएको छ। उनलाई पक्राउ गरेपछि कास्की जिल्ला प्रहरीको हिरासतमा एक्लै राखिएको छ। शनिबार बिहान पार्टीका उपसभापति डीपी अर्याल र अन्य सांसदहरूले हिरासतमा उनलाई भेटेका थिए। लामिछानेमाथि सहकारीबाट अपचलन गरेको रकम किर्ते कागजातका आधारमा गोर्खा मिडियामा लगानी गरिएको आरोप लागेको छ।

प्रतिनिधिसभाले लामिछानेको पक्राउको सूचना प्रकाशित गरेको छ। संविधानअनुसार, सांसद पक्राउ परे पनि मुद्दा पुर्पक्षका लागि थुनामा रहेसम्म मात्रै पद निलम्बन हुन्छ। लामिछानेको मुद्दामा सरकारी वकिल र पीडितको तर्फबाट वकिलहरूले अदालतमा बहस गर्ने तयारी गरेकाछन्। आजको कान्तिपुर दैनिकबाट 

 

प्रतिक्रिया