रास्वपाको सांसदलाई निर्देशन : परिवार र आफन्तलाई स्वकीय सचिव नराख्नू

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्दा परिवारका सदस्य वा नजिकका आफन्तलाई नियुक्त नगर्न स्पष्ट निर्देशन दिएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार जारी गरेको ‘स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड’ मा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। निर्देशिकाअनुसार पार्टीको विधान र सुशासनको मूल नीतिअनुसार एकाघरका सदस्य तथा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ।

निर्देशनमा स्वकीय सचिवको नियुक्ति पारिवारिक वा नातागोताको दायराभन्दा बाहिरका योग्य व्यक्तिबाट मात्रै गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, नियुक्ति प्रक्रिया पारदर्शी, मितव्ययी र जनउत्तरदायी हुनुपर्नेमा पनि जोड दिइएको छ।

सरकारले हालै सांसदहरूलाई स्वकीय सचिव राख्ने सुविधा उपलब्ध गराउने निर्णय गरी राजपत्रमा समेत प्रकाशित गरिसकेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ संशोधन भएपछि प्रत्येक सांसदले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) का एक जना स्वकीय सचिव नियुक्त गर्न पाउने व्यवस्था गरिएको छ।

राज्यकोषबाट उपलब्ध हुने यस सुविधाको दुरुपयोग हुन नदिन र नियुक्ति प्रक्रियालाई सुशासनका मापदण्डअनुरूप बनाउन रास्वपाले आफ्ना सांसदका लागि उक्त आन्तरिक निर्देशन जारी गरेको जनाएको छ।

प्रतिक्रिया