ग्लोबल आइएमई बैंकको नाफामा छलाङ, ६ अर्ब २२ करोड कमाइ

 

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ। बैंकले समीक्षा अवधिमा ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँको तुलनामा २२.६६ प्रतिशत बढी हो। बैंकको मुख्य आम्दानीमा वृद्धि हुनुका साथै इम्पेयरमेन्ट घाटा उल्लेख्य रूपमा घटेपछि खुद नाफा बढेको हो।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २१ अर्ब ८० करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २१ अर्ब २४ करोड ९१ लाख रुपैयाँ रहेको थियो। बैंकको कुल सञ्चालन आम्दानी २.६३ प्रतिशतले बढेको हो।

बैंकको मुख्य व्यवसायबाट हुने खुद ब्याज आम्दानी पनि ३.३९ प्रतिशतले बढेर १६ अर्ब २० करोड ३८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १५ अर्ब ६७ करोड २० लाख रुपैयाँ थियो।

त्यसैगरी, सेवा शुल्क तथा कमिसनबाट हुने खुद आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। बैंकले समीक्षा अवधिमा यस्तो शीर्षकबाट ३ अर्ब ८४ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष ३ अर्ब २२ करोड १७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी १९.४६ प्रतिशतले बढेको हो।

बैंकको नाफा वृद्धिमा इम्पेयरमेन्ट घाटामा आएको कमीले समेत महत्वपूर्ण योगदान गरेको छ। अघिल्लो वर्ष ४ अर्ब ७३ करोड ५३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष ४९.३५ प्रतिशतले घटेर २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ।

यसैगरी, बैंकको सञ्चालन मुनाफा ११.६४ प्रतिशतले बढेर १६ अर्ब ८ करोड २१ लाख रुपैयाँ पुगेको छ।

निक्षेप र कर्जा विस्तारमा पनि बैंकले वृद्धि कायम राखेको छ। असार २०८३ सम्म बैंकको निक्षेप १५.८५ प्रतिशतले बढेर ५ खर्ब ८९ अर्ब १७ करोड ११ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकसँग ५ खर्ब ८ अर्ब ५२ करोड रुपैयाँ निक्षेप रहेको थियो।

यस्तै, बैंकको कर्जा लगानी १०.३२ प्रतिशतले बढेर ४ खर्ब ५९ अर्ब ४ करोड ९३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको असार मसान्तमा बैंकको कर्जा लगानी ४ खर्ब १६ अर्ब ११ करोड रुपैयाँ थियो।

बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ। नियामकीय व्यवस्था तथा विभिन्न प्रावधानपछि बैंकसँग ४ अर्ब ८० करोड १ लाख रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा रहेको छ। यो अघिल्लो वर्षको ४ अर्ब ६ करोड ४९ लाख रुपैयाँको तुलनामा १८.०८ प्रतिशत बढी हो।

समीक्षा वर्षको नाफाबाट मात्रै ३ अर्ब ७० करोड ३४ लाख रुपैयाँ लाभांश वितरणका लागि उपलब्ध रहेको बैंकले जनाएको छ। ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष २९.५२ प्रतिशतले बढेर ३१ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष १३.३२ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी २२.६७ प्रतिशतले बढेर १६.३४ रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १८३.१४ रुपैयाँ रहेको छ।

यता, बैंकको खराब कर्जा अनुपात भने सामान्य घटेको छ। अघिल्लो वर्ष ४.६९ प्रतिशत रहेको खराब कर्जा घटेर ४.५५ प्रतिशतमा आएको छ। बैंकको आधार दर ७.५१ प्रतिशत र स्प्रेड दर ३.२८ प्रतिशत रहेको छ भने पुँजी कोष अनुपात १२.१९ प्रतिशत कायम छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय