काठमाडौं । इजरायली रक्षा सेना (IDF) ले इरानबाट प्रक्षेपण गरिएका मिसाइलहरू आफ्नो देशतर्फ आइरहेको जनाएको छ र सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। टेलिग्राममार्फत जारी आपतकालीन सूचनामा सम्भावित आक्रमणलाई रोक्न रक्षा प्रणाली सक्रिय पारिएको उल्लेख गरिएको छ।
यस घटनासँगै मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। इरान र इजरायल बीचको बढ्दो तनावले क्षेत्रीय स्थायित्वमा चिन्ता थपेको विश्लेषकहरू बताउँछन्।
यसैबीच, संयुक्त अरब इमिरेट्स ले सम्भावित मिसाइल तथा ड्रोन आक्रमणको जोखिम बढेपछि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स का अनुसार यूएईले “असाधारण सावधानीका उपाय” अन्तर्गत यस्तो निर्णय लिएको हो।
रिपोर्टअनुसार यूएईको हवाई रक्षा प्रणाली उच्च सतर्कतामा राखिएको छ र इरानबाट आउन सक्ने सम्भावित खतराको प्रतिकारका लागि तयारी गरिएको छ। यस घटनाक्रमले मध्यपूर्व क्षेत्रमा सुरक्षा जोखिम बढ्दै गएको संकेत गरेको छ।