नबिल बैंकका शेयर धनीलाई बम्पर बोनस


काठमाडौं–नबिल बैंकको ३७ औं वार्षिक साधारणसभाले शेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको साधारणसभाले ३३.६० प्रतिशत बोनस शेयर र ४.४० प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।


बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ४ अर्ब ५३ करोड रुपैयाँ मुनाफा हासिल गरेको बिज्ञप्तीमा उल्लेख छ। बैंकले जेथामा प्रतिफल १५.१९ र प्रति शेयर आम्दानी ३३.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब रुपैयाँ पुर्याएको बताइएको छ । मुनाफाबाट प्रस्तावित बोनस शेयर प्रस्ताव बैंकको पुँजी १८ अर्ब ४९ करोड पुगेको बैंकले जनाएको छ ।


साधारणसभामा बैंकका अध्यक्ष उपेन्द्र पौडेलले न्यून कार्बन अर्थतन्त्र, दीगो तथा समतामूलक भविष्यको लागि रणनीतिक रुपमा ग्रिन फाइनान्सिङ र क्लाइमेट चेन्ज फाइनान्सिङमा बैक थप लगानी गर्न प्रतिबद्ध रहेको बताए ।  साधारणसभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने दुई संचालक समेत चयन गरेको छ। साधारण सभाले उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि. लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेललाई निर्बिरोध निर्वाचित गरेको जनाएको छ ।  


बैंक संचालक समितिको ५८८ औं बैठकले संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । बिज्ञप्तीमार्फत बैंकले एकसय ३५ वटा शाखाहरु, एकसय ८७ वटा एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
 

प्रतिक्रिया