गण्डकी प्रदेशमा मुख्यमन्त्रीको लागि दाबी पेस गर्न सात दिनको समय

काठमाण्डौं - केन्द्रमा भएको सत्ता समीकरण परिवर्तनको असर प्रदेशहरूमा पनि देखिन थालेको छ । बुधबार मात्र गण्डकी प्रदेशका मुख्यमन्त्रीसुरेन्द्रराज पाण्डेले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीको लागि सात दिनको समय दिइएको छ । 

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टले एक साता समय दिएका छन्।प्रदेश प्रमुख भट्टले नयाँ सरकार गठनका लागि बुधबार एक साताको समय दिएका हुन्।

 

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत २७ गते अपराह्न ३ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि दाबी पेस गर्न समय दिएका हुन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा अर्को मन्त्रिपरिषद गठन नभएसम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम अहिलेकै प्रदेश मन्त्रिपरिषदले कार्यसञ्चालन गर्ने गरी प्रदेश प्रमुखले जिम्मेवारीसमेत दिएको उल्लेख छ।

प्रतिक्रिया