गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र नेपाल सरकारबीच आठबुँदे सहमति भएको छ।

गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच भएको सहमतिअनुसार परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठबुँदे समझदारी गरिएको हो।

सहमतिअनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने तथा परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ।

यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवाको व्यवस्था गर्ने, गणेश यादवको सम्झनामा स्मृति पार्क निर्माण गर्ने, उनका बुबाआमाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने तथा शव बुझेर शनिबार नै दाहसंस्कार गर्ने सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए। दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि सहमतिमा उल्लेख छ।

शवको अवस्थाबारे उठेको जिज्ञासामा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जानकारी दिए। अनुसन्धानलाई सहज बनाउन शव त्यहाँ पठाइएको र शनिबार हेलिकोप्टरमार्फत सिरहा ल्याई परिवारलाई जिम्मा लगाइने उनले बताए।

गृहमन्त्री गुरुङले घटनाको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरिएको पनि जानकारी दिए। उनका अनुसार सुनसरी र सिरहाका दुवै घटनाको अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता तथा विज्ञहरू सम्मिलित समिति बनाइएको छ।

घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने, पीडित परिवारलाई न्याय दिलाउने र दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता सरकारले जनाएको छ।

प्रतिक्रिया