ब्रोड पिकमा हिमपहिरो : निर्मल पुर्जाको नेतृत्वमा १० सदस्यीय टोली सम्पर्कविहीन

काठमाडौं । पाकिस्तानको काराकोरम हिमश्रृंखलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको आशंका गरिएको छ।

पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार मध्याह्नतिर ब्रोड पिकको चुचुरो क्षेत्रमा हिमपहिरो गएको थियो। त्यसयता टोलीसँग कुनै पनि प्रकारको सम्पर्क हुन नसकेको जनाइएको छ।

सम्पर्कविहीन भएको आशंका गरिएको टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली पर्वतारोहीसहित कुल १० जना सदस्य रहेका छन्। मौसम अनुकूल भएमा उनीहरूको खोजीका लागि हेलिकप्टरमार्फत उद्धार अभियान सञ्चालन गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग समन्वय गरी तत्काल खोज तथा उद्धार अभियान अघि बढाइएको जनाएको छ। आवश्यक हेलिकप्टर सहयोग सुनिश्चित गर्न प्रयास भइरहेको र उपलब्ध सबै स्रोत–साधन परिचालन गरिएको क्लबले उल्लेख गरेको छ।

क्लबले सम्पूर्ण पर्वतारोहीहरूको सुरक्षित उद्धारको कामना गर्दै उनीहरूका परिवार र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता जनाएको छ।

ब्रोड पिकलाई विश्वकै कठिन र जोखिमपूर्ण हिमालमध्ये एक मानिन्छ।

टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा छ महिनाभन्दा कम अवधिमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनी बेलायती सेनाका पूर्व सैनिक हुन्। सन् २०१८ मा उच्च जोखिमपूर्ण सैन्य सेवाका लागि उनले बेलायती महारानी एलिजाबेथ द्वितीयाबाट ‘एमबीई’ सम्मान प्राप्त गरेका थिए। नेटफ्लिक्सको चर्चित वृत्तचित्र 14 Peaks: Nothing Is Impossible मार्फत पनि उनी विश्वभर परिचित छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय