प्रेम आले एक्सनमा राजस्व नतिरी भाग्न लागेका क्यासिनो संचालक समातिय

काठमाण्डौ । बतास समूहलाई तह लगाएर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको चर्चा यतिबेला निकै चलिरहेको छ । आज मात्र मन्त्रीको निर्देशनमा एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ ।

क्यासिनो सञ्चालन गरे बापत उनले नेपाल सरकारलाई  १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सिइओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।


उनले ओसिपी एसियाको लगानीमा काठमाडौँको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजस्व तिरेका थिएनन् । बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रतिक्यासिनो  छ करोड ५० लाखका दरले दुई क्यासिनोको  १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको हो ।

मन्त्री आलेको निर्देशन पछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि  ४० करोड सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन् भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले भने  १३ करोड राजस्व नबुझाएको बताइएको छ । एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ । सर्वोच्च अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश विपरीत क्यासिनो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा पक्राउ परेका हुन् । 

प्रतिक्रिया