काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेस जस्ता ठूला पार्टीसँग डराएर अन्य दलहरू मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन्।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेसबाहेकका दलहरूले एक्लै सरकार बनाउन नसक्ने भएकाले गठबन्धनको बाटो लिएको दाबी गरे। उनले उदाहरण दिँदै भने, ‘कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर सिंहको शिकार गर्न सक्दैनन्।’
ओलीले कसैलाई पार्टी अध्यक्ष र कसैलाई प्रधानमन्त्री बाँडफाँड गरेर गरिएको सहमति हास्यास्पद भएको टिप्पणी गर्दै, स–साना समूहले एकत्रित भएर ठूलो पार्टीलाई कमजोर पार्न नसक्ने बताए। एमाले भने आगामी निर्वाचनका लागि तयारीमै रहेको र जनताबाटै स्पष्ट जनादेश ल्याउने विश्वास व्यक्त गरे।
उनका अनुसार अहिलेको परिस्थितिमा निर्वाचन सम्भव नभएकाले असंवैधानिक रूपमा विघटन गरिएको संसद पुनःस्थापना हुनु आवश्यक छ। संसद नै सरकार बनाउने र हटाउने थलो भएको भन्दै उनले संसद विघटन संविधानविपरीत भएको आरोप लगाए। संसद पुनःस्थापनाबारे सर्वोच्च अदालतले चाँडो न्याय दिनुपर्ने उनको जोड थियो।
ओलीले राहदानी रोक्का गर्ने र स्थानहद तोक्ने जस्ता कदमले पनि निर्वाचन अनुकूल वातावरण बनाउन नसक्ने उल्लेख गर्दै, संसद पुनःस्थापना भएर मात्र राजनीतिक संकटको समाधान हुने दाबी गरे।