☰

कर बढ्ने आशंकाबीच विद्युतीय गाडी आयात दोब्बर, एक महिनामै १,८९२ इभी भित्रियो

काठमाडौं — आगामी बजेटमार्फत विद्युतीय सवारीसाधन (इभी) मा कर बढ्ने चर्चा चलिरहेका बेला नेपालमा यसको आयात अप्रत्याशित रूपमा दोब्बरले वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको बैशाख महिनामा मात्रै १ हजार ८९२ वटा कार, जीप र भ्यानजस्ता इभी नेपाल भित्रिएका छन्। अघिल्लो महिनाको तुलनामा यो संख्या दोब्बर हो। चैतमा ८७८ वटा इभी भित्रिएका थिए।

बैशाखमा आयात भएका इभीको मूल्य करिब ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। गत साउनदेखि बैशाखसम्मको १० महिनामा कुल ९ हजार ८५९ वटा इभी नेपाल भित्रिएका छन्, जसको आयात मूल्य २३ अर्ब १० करोड रुपैयाँ पुगेको छ। चैतमा मात्र १ अर्ब ९७ करोड रुपैयाँ बराबरको ८७८ वटा इभी भित्रिएका थिए भने फागुनमा ८३३, माघमा ७७६, पुसमा ७८३, मंसिरमा १ हजार २१०, कात्तिकमा ९६९, असोजमा ९१६, भदौमा १ हजार २२१ र साउनमा ३८१ वटा इभी नेपाल आएका थिए।

व्यापारीहरू आगामी बजेटमा कर बढ्ने सम्भावनालाई ध्यानमा राख्दै सस्तो मूल्यमा इभी आयात गरी स्टक राख्ने रणनीतिमा देखिन्छन्। अहिले ५१ देखि १ सय किलोवाट क्षमताका इभीको आयात उल्लेख्य रूपमा बढेको छ। हाल इभीमा कर दर झन्डै १०–१५ प्रतिशत छ, तर बजेटपछि यो कर झन्डै ४० प्रतिशतसम्म पुग्ने चर्चा चलिरहेको छ। सरकारले औपचारिक रूपमा कर बढाउने निर्णय नगरे पनि सम्भावनाबारे व्यापक चर्चा भइरहेको छ।

सरकारले भने इभीलाई प्रोत्साहन गर्ने नीति लिएको दाबी गर्दै आएको छ, तर कर वृद्धिको आशंकाले बजारमा अन्योल पैदा गरेको छ। व्यापारीहरूले ‘बजेट अघिको रणनीति’ अन्तर्गत इभीको ठूलो परिमाणमा आयात गरिरहेका छन् ताकि मूल्यवृद्धिपछि महँगोमा बिक्री गर्न सकुन्।

विद्युतीय सवारीसाधन चीन, भारत, कोरिया, जर्मनी, अमेरिका र इन्डोनेसियाबाट आयात हुने गरेका छन्। यी सवारीसाधन ५० किलोवाटदेखि ३०० किलोवाट क्षमतासम्मका हुन्छन्। अब जेठ १५ गते सार्वजनिक हुने बजेटपछि मात्र करको संरचना बदलिने निश्चित हुने छ। तर, हालको अन्योलले बजारलाई तातो बनाइरहेको छ र उपभोक्तालाई आगामी महिनाहरूमा महँगो मूल्य तिर्नुपर्ने सम्भावना बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय