फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ मा फ्रान्स र नर्वेले विजयी सुरुवात गरेका छन्। आज सम्पन्न खेलहरूमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गर्दा नर्वेले इराकमाथि ४–१ को प्रभावशाली जित निकालेको हो।
न्युयोर्क–न्युजर्सी स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। सेनेगलले बलियो रक्षात्मक खेल प्रदर्शन गर्दै फ्रान्सलाई दबाबमा राखेको थियो। निकोलस ज्याक्सन र इस्माइला सारले प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा सेनेगल अग्रता लिनबाट चुक्यो।
दोस्रो हाफमा भने फ्रान्सले खेलमा पकड जमायो। कप्तान किलियन एम्बाप्पेले ६६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८१औँ मिनेटमा वैकल्पिक खेलाडी ब्राड्ली बार्कोलाले गोल थपेपछि फ्रान्स २–० ले अघि बढ्यो।
इन्जुरी समयमा सेनेगलका युवा खेलाडी इब्राहिम म्बायले एक गोल फर्काउँदै खेलमा आशा जगाए। तर त्यसको केही क्षणपछि एम्बाप्पेले बक्स बाहिरबाट शानदार गोल गर्दै फ्रान्सको ३–१ को जित सुनिश्चित गरे।
खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले राष्ट्रिय टोलीका लागि आफ्नो कुल गोल संख्या ५८ पुर्याएका छन्। यससँगै उनले ओलिभर जिरुडलाई पछि पार्दै फ्रान्सको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन्।
उता, बोस्टन स्टेडियममा भएको अर्को खेलमा नर्वेले इराकलाई ४–१ ले हराउँदै विश्वकपमा शानदार पुनरागमन गरेको छ। २८ वर्षपछि विश्वकप खेलिरहेको नर्वेका लागि स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने।
हालान्डले २८औँ र ४२औँ मिनेटमा गोल गर्दै नर्वेलाई बलियो अवस्थामा पुर्याएका थिए। खेलको ३८औँ मिनेटमा इराकका आयमेन हुसेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए पनि त्यसपछि नर्वेले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो।
दोस्रो हाफमा लियो ओस्टिगार्डले ७५औँ मिनेटमा गोल गर्दै नर्वेको अग्रता फराकिलो बनाए। खेलको अन्तिम समयमा इराकका आयमेन हुसेनबाट आत्मघाती गोल भएपछि नर्वे ४–१ को सहज विजेता बन्यो।
पहिलो खेलपछि समूह ‘आई’ मा नर्वे गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ। सेनेगल र इराक भने अंकविहीन रहँदै तालिकाको पुछारमा रहेका छन्। आगामी खेलहरूमा यी दुवै टोली पुनरागमनको लक्ष्यसहित मैदानमा उत्रनेछन्।