काठमाडौँ — प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार विश्वासको मत नपाएपछि शुक्रबार ढलेको छ। संसदमा कुल २५८ सांसदको उपस्थितिमा ६३ मतमात्रै पक्षमा परेपछि प्रचण्ड सरकार ढलेको हो। कांग्रेस र एमालेबीचको नयाँ समीकरणपछि एमालेले सरकारबाट समर्थन फिर्ता लिएको थियो।
प्रचण्डले आफ्नो कार्यकालमा पाँचौं पटक विश्वासको मत लिएका थिए। २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रतिपक्षमा पुगेका छन्।
प्रचण्डले पहिलो पटक २०७९ पुस २६ गते, दोस्रो पटक २०७९ चैत ६ गते, तेस्रो पटक २०८० फागुन ३० गते, र चौथो पटक २०८१ जेठ ७ गते विश्वासको मत प्राप्त गरेका थिए। संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव राखेका थिए।