गुल्मीमा बाँदर–बँदेल आतंकबारे सांसद गोविन्द पन्थीको सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीले गुल्मीका किसानले वर्षौंदेखि भोग्दै आएको बाँदर र बँदेलको समस्याको दीर्घकालीन तथा तत्काल समाधानका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

संसदमा सभामुखमार्फत आफ्नो धारणा राख्दै सांसद पन्थीले गुल्मी भ्रमणका क्रममा विभिन्न स्थानमा किसानसँग प्रत्यक्ष भेटघाट, गुनासा सुन्ने तथा खेतबारीको अवस्था अवलोकन गर्दा बाँदर र बँदेलको आतंक नै किसानको सबैभन्दा ठूलो समस्या बनेको पाएको बताए।

उनले दीर्घकालीन समाधानका लागि वन क्षेत्रमा वन्यजन्तुले उपयोग गर्ने फलफूल तथा अन्य आहाराका बोटबिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे। यसबाट वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण हुनुका साथै खाद्य स्रोतको व्यवस्थापनमा पनि सहयोग पुग्ने उनले बताए।

सांसद पन्थीले तत्काल कार्यान्वयन गर्नुपर्ने तीन प्रमुख प्रस्ताव पनि अघि सारे। उनले प्रत्येक स्थानीय तहमा कम्तीमा ५०० वटा बाँदर व्यवस्थापन गर्न सक्ने क्षमताको ‘मन्की पार्क’ स्थापना गर्न, प्रत्येक पालिकामा कम्तीमा दुई जना तालिमप्राप्त शिकारी परिचालन गरी बँदेल नियन्त्रण अभियान सञ्चालन गर्न तथा उनीहरूलाई न्यूनतम तलबसँगै कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउन सरकारसँग माग गरे।

यस्तै, जिल्ला वन कार्यालयमार्फत प्रत्येक स्थानीय तहका लागि कम्तीमा ५० लाख रुपैयाँ बजेट तत्काल विनियोजन गरी प्रभावकारी नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने उनको प्रस्ताव छ।

“किसानलाई उत्पादन गर्न प्रेरित गर्ने हो भने पहिले उसको उत्पादन सुरक्षित गर्नुपर्छ,” भन्दै सांसद पन्थीले किसान, वन्यजन्तु र प्रकृतिबीच सन्तुलन कायम हुने गरी प्रभावकारी कार्यक्रम तत्काल लागू गर्न सरकारसँग आग्रह गरे।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय