काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र सुधारगृहबाट फरार भएका बन्दीमध्ये झण्डै पाँच हजार सात सय जना अझै पक्राउ परेका छैनन्।
कारागार व्यवस्थापन विभागका अनुसार प्रदर्शनका बेला मुलुकभरका २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी कूल १४ हजार ५५३ जना फरार भएका थिए। तीमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ जना पुनः कारागार फर्किएका छन्।
तर अझै पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ जना फरार रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताएका छन्।
गृह मन्त्रालयले असोज १० गतेसम्म फरार कैदीबन्दीलाई कारागारमा फर्कन अल्टिमेटम दिएको थियो। ठूलो सङ्ख्यामा विभिन्न कसुरमा सजाय भोगिरहेका कैदी फरार भएपछि सुरक्षामा चुनौती बढेको भन्दै सरकारले विशेष अभियान सञ्चालन गरेको छ। अभियान अन्तर्गत सुरक्षाकर्मीहरूले फरार कैदीहरूलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा पठाइरहेका छन्।
मन्त्रालयले फरार बन्दीहरूको खोजी, नियन्त्रण र पक्राउका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ, जसमा सुरक्षा निकायका प्रतिनिधिहरू सदस्य रहेका छन्।
जेनजी प्रदर्शनको मौका पारेर झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरलगायतका कारागारबाट कैदीबन्दी फरार भएका थिए।
त्यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधारगृहबाट नौ सय ६३ बालबन्दी भागेका थिए।
सुरक्षा घेरा तोड्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो। यस्तै नौवस्ता बालसुधारगृहमा भएको झडपमा पाँच बालबन्दीको मृत्यु भएको थियो।
कारागार कार्यालयहरूले फरार कैदीबन्दीहरूलाई तुरुन्त कारागारमा फर्किन आग्रह गरेका छन्। सरकारले जारी गरेको सूचनालाई बेवास्ता गर्नेहरूविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
हाल मुलुकका ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४६ कैदीबन्दी रहेका छन्। धनुषा, बारा, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पूर्वी रुकुममा भने कारागार छैन।
| विवरण | सङ्ख्या |
|---|---|
| कारागारबाट फरार कैदी | १३,५८९ |
| बालसुधारगृहबाट फरार बालबन्दी | ९६४ |
| कुल फरार बन्दी | १४,५५३ |
| फर्किएका कैदी | ८,५१० |
| फर्किएका बालबन्दी | ३४१ |
| कुल फर्किएका बन्दी | ८,८५१ |
| अझै फरार कैदी | ५,०७९ |
| अझै फरार बालबन्दी | ६१८ |
| कुल अझै फरार बन्दी | ५,६९७ |
| कुल कारागार संख्या | ७५ |
| कारागार भएका जिल्ला | ७२ |
| कारागार नभएका जिल्ला | धनुषा, बारा, भक्तपुर, नवलपरासी (पूर्व), पूर्वी रुकुम |
| कुल कैदीबन्दी सङ्ख्या | ३०,६४६ |