बालकुमारी घटना : मन्त्री ज्वालासहित डिएसपी र पिएसओ दोषी

काठमाडौँ — ललितपुरको बालकुमारी घटना छानबिन आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजनालाई दोषी देखाएको छ । आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला जान नहुने ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको औंल्याइएको छ ।

गत पुस १३ गते दुई युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा ‘बालकुमारी घटना जाँचबुझ आयोग’ गठन गरेको थियो ।‘भौतिक पूर्वाधार मन्त्रीज्यू पुग्न नपर्ने/पुग्न नहुने ठाउँमा पुगेर गल्ती गरेको प्रतिवेदनमा उल्लेख छ,’ गृहमन्त्रालय निकट स्रोतले भन्यो, ‘मन्त्री खेलाँची गरेर एन्टी डिरेक्शन (गलत दिशा) मा गएकाले घटना घट्न पुगेको निष्कर्ष निकालिएको छ ।’ आयोगले प्रर्दशन र हुलहुज्जत भईरहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको यकीन नगरी विभागीय मन्त्री पुग्नु नै मुख्य कमजोरी रहेको औंल्याएको हो ।भन्दै सरकारको समेत आलोचना भएको थियो । सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

सरकारले छानबिन गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्न पौडेलको अध्यक्षतामा गठन गरेको आयोगमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराई सदस्य थिए । आयोगले पुस २० देखि जाँचबुझ थालेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिवेदन बुझाएपछि आयोगका अध्यक्ष पौडेलले जारी गरेको विज्ञप्तिमा घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य १६ जनाको बयान कागज गरेको उल्लेख छ । घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एंव अन्य समेत गरी २९ जनाको बयान गरेको जनाइएको छ ।

 

ईपीएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नं. गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदनहरू लिइएको, घटनास्थलबाट बरामद भएका भौतिक सबुदहरूको परीक्षण प्रतिवेदन तयार गरिएको, शव परीक्षण प्रतिवेदन तयार गरिएको, उपत्यका प्रहरी कार्यालय परिचालन कक्ष एवं प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सञ्चारको विवरण तथा सिसीटीभी फुटेज लिइएको, घटनास्थल वरपर उपलब्ध भएसम्मका सिसीटीभीबाट फुटेज लिइएको र आयोगको इमेलमा प्राप्त भएका सूचनाहरू समेतलाई गहन अध्ययन तथा विश्लेषण गरिएको समेत विज्ञप्तिमा जनाइएको छ । आजको कान्तिपुर दैनिक 

प्रतिक्रिया