काठमाडौं, कात्तिक १० — सूर्य उपासना र आराधनाको पर्व ‘छठ’को मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुहरूले साँझ सूर्यदेवलाई पूजा अर्चना गर्दै अर्घ्य दिने परम्परा रहेको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व शनिबारदेखि सुरु भएको हो। पौराणिक ग्रन्थ महाभारतका अनुसार पाण्डव र द्रौपदीले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेपछि यो परम्परा सुरु भएको बताइन्छ। सूर्य पुराणका अनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले पहिलोपटक छठ व्रत गरी अटल सौभाग्य प्राप्त गरेकी थिइन्।
सूर्यका किरणले जीवन र प्रकृतिलाई ऊर्जा दिने भएकाले सूर्यको आराधनालाई अत्यन्त पवित्र मानिन्छ। साम्ब पुराणमा कृष्णपुत्र साम्बले सूर्यको पूजा गरेर कुष्ठरोगबाट मुक्ति पाएको उल्लेख छ। जनविश्वास अनुसार छठ व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ र परिवारमा सुख–समृद्धि बढ्छ।
व्रतविधिअनुसार चतुर्थीका दिन एक छाक खाएर बस्ने, पञ्चमीका दिन ‘खरना’ गरी नुनरहित प्रसाद ग्रहण गर्ने, र षष्ठीका दिन निराहार व्रत बस्दै साँझ सूर्यलाई अर्घ्य दिने गरिन्छ। त्यसपछि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरिन्छ।
पहिले तराईमा सीमित रूपमा मनाइने यो पर्व अहिले राष्ट्रिय चाडको रूप लिएको छ। विसं २०४६ पछि सरकारले छठ पर्वमा देशभर सार्वजनिक बिदा दिने परम्परा सुरु गरेको हो।
राजधानी काठमाडौंमा गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, वागमती र नख्खु नदी किनारमा पूजा अर्चनाका लागि विशेष सजावट गरिएको छ। कतिपय व्रतालुले कोजाग्रत पूर्णिमापछि नै तामसी पदार्थ त्यागी सात्विक भोजन गरेर बस्ने गर्छन्। यस कारण यो पर्व अत्यन्तै पवित्र र श्रद्धायुक्त चाडको रूपमा स्थापित भएको छ।