काठमाण्डौ । फ्रान्सले फिफा विश्वकप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गर्दै समूह ‘आई’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
लगातार तेस्रो जित निकाल्दै फ्रान्सले समूह शीर्ष स्थान सुरक्षित गर्यो। यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेका फ्रान्स र नर्वेबीचको यो खेल समूह विजेता निर्धारणका लागि महत्वपूर्ण मानिएको थियो।
फ्रान्सको जितमा उसमान डेम्बेले चम्किए। उनले खेलको ७औँ, २०औँ र ३२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। पहिलो हाफको ३२ मिनेटभित्रै ह्याट्रिक गरेसँगै डेम्बेले विश्वकप इतिहासमा दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाए। विश्वकपमा सबैभन्दा छिटो ह्याट्रिक गर्ने कीर्तिमान भने अस्ट्रियाका Erich Probst को नाममा रहेको छ। उनले सन् १९५४ को विश्वकपमा २४ मिनेटभित्र ह्याट्रिक गरेका थिए।
फ्रान्सका लागि दोस्रो हाफको इन्जुरी समयमा डिजायर डोएले अर्को गोल थपे। नर्वेका थेलो आसगार्डले सान्त्वना गोल फर्काए। नर्वेले भने यस खेलमा आफ्नो प्रमुख स्ट्राइकर Erling Haaland लाई विश्राम दिएको थियो।
यस विश्वकपमा यसअघि Lionel Messi र Jonathan David ले पनि ह्याट्रिक गरेका थिए।
गएराति नै भएको अर्को खेलमा सेनेगलले इराकलाई ५–० गोलले पराजित गर्यो। लगातार तीन खेलमा हार बेहोरेको इराक भने समूह चरणबाटै बाहिरिएको छ।