काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हालसम्म ८७ प्रतिशत काम सम्पन्न भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ।
निर्माण अवधिमा विभिन्न अवरोध र ढिलाइका कारण ४२ महिनामा सम्पन्न हुनुपर्ने परियोजना तोकिएको समयमै पूरा हुन सकेन। राजधानी भित्रिन सहज बनाउने यो महत्वपूर्ण सुरुङमार्गमा सवारी सञ्चालन हुन अझै कम्तीमा एक वर्ष लाग्ने आयोजनाले जनाएको छ।
हाल सुरुङमार्गको मुख्य ढलान सकिएको छ भने आपत्कालीन उद्दार मार्गको ढलान कार्य आधा मात्र सम्पन्न भएको छ। आयोजनाका सूचना अधिकारी सञ्जय पन्थीका अनुसार मुख्य संरचनाको निर्माणपछि तीन महिना ‘सफ्ट ओपनिङ’ गरी परीक्षण सञ्चालन गरिनेछ।
“८७ प्रतिशत काम सम्पन्न भइसकेको छ,” पन्थीले भने, “निर्माण सकिएपछि तीन महिना सफ्ट ओपनिङ हुनेछ, त्यसपछि मात्रै नियमित रूपमा सवारी सञ्चालन हुनेछ।”
आयोजनाले सुरुङमार्गको सञ्चालन मोडालिटी अझै तय नगरेको जनाएको छ। हालसम्मको प्रगति हेर्दा सन् २०२५ को अन्त्यतिर मात्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।