काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी स्वामित्वको जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेसँगै ती संगठनहरूले सरकारी जग्गामा निर्माण गरी प्रयोग गर्दै आएका भवन तथा अन्य संरचनाको कानुनी आधार समाप्त भएको जनाएको छ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णय तथा श्रम तथा व्यावसायजन्य सुरक्षा विभागबाट सम्बन्धित ट्रेड युनियनहरूको दर्ता समेत खारेज भइसकेको छ। त्यसपछि सरकारी सम्पत्तिको संरक्षण र व्यवस्थापनका लागि भवन खाली गराउने प्रक्रिया अघि बढाइएको हो।
सूचनामा सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र सम्बन्धित संगठनहरूले भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी कागजात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन निर्देशन दिइएको छ। तोकिएको अवधिभित्र भवन खाली नगरे प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि मन्त्रालयले दिएको छ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको रोहवरमा सम्बन्धित संगठनका भवनमा समेत सूचना टाँस गरिएको जनाएको छ।
भवन खाली गर्न निर्देशन दिइएका संगठनहरूमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल लगायत रहेका छन्।