वीरगञ्जमा कर्फ्यू हट्यो

वीरगञ्जमा विगत केही दिनयता भइरहेको विरोध प्रदर्शन नगर्ने सहमति जुटेपछि पर्सा जिल्लामा लागू गरिएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लागू भएको कर्फ्यू आज दिउँसो ३ः३० बजेदेखि हटाइएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार अन्य मुलुक वा स्थानमा भएका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने सहमति भएपछि कर्फ्यू हटाउने निर्णय गरिएको हो। उनले यहाँका समुदायबीच आपसी सहमति बनेपछि शान्ति–सुरक्षा अवस्था सामान्य बन्दै गएको बताए।

बैठकले भविष्यमा कुनै पनि प्रकारको विरोध प्रदर्शन गर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिएर मात्रै ज्ञापनपत्र बुझाउने र त्यसपछि मात्रै आन्दोलन सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। साथै धार्मिक, सामाजिक सद्भावलाई कमजोर पार्ने गतिविधि रोकथाम तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि गरिएको छ।

सो संयन्त्रमा हिन्दू समुदायतर्फबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिम समुदायतर्फबाट महमद महबुब अली (शेरु) र अली असगर मदनी रहनेछन्। आवश्यकता अनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि तथा जिल्लास्थित सबै राजनीतिक दलबाट पनि एक/एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको प्रशासनले जनाएको छ। नेपाल पत्रकार महासंघ र नागरिक समाजका प्रतिनिधिलाई पनि संयन्त्रमा समावेश गरिएको छ।

यसैगरी, सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्दा धार्मिक तथा सामाजिक सद्भावमा असर नपर्ने गरी प्रस्तुत गर्न बैठकले आग्रह गरेको छ। सद्भाव भंग गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय गरिएको छ।

बैठकमा सहभागी सबै पक्षले आ–आफ्नो कमजोरी आत्मसमीक्षा गर्दै समुदायमा अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएका छन्। साथै विद्यमान परिस्थिति सामान्य अवस्थामा फर्किँदै गएकाले आगामी दिनमा थप विरोध कार्यक्रम नगर्ने सहमति पनि गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया