पाल्पा सिमेन्टले उद्योग प्रभावित क्षेत्र र विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। उक्त शेयर पश्चिम नवलपसारी (साविक नवलपरासी) र खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरिएको छ। यसमा आवेदन दिन नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपाली योग्य हुनेछन्।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। पाल्पा सिमेन्टले २०७६ सालदेखि क्लिंकर र २०७७ सालदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ। हाल कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १ हजार ८०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता २ हजार २०० मेट्रिक टन रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले तोकिएका बैंक शाखाबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सि–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय