काठमाडौं–नेपाली लगानीकर्तामा आईपीओमा आकर्षण बढ्दै जाँदा व्यापारिक घरानाले पनि आफ्नो लगानीका कम्पनीको धमाधम आईपीओ निष्कासन गर्न सुरु गरेका छन् । उद्योगपति शशिकान्त अग्रवालको लगानी रहेका दुई होटलको आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।
अन्तर्राष्ट्रिय चेन होटलका रुपमा सञ्चालित काठमाडौं मेरियट र फेयर फिल्ड मेरियट होटलले प्राथमिक सेयर निष्कासन गर्ने भएका छन् । यी दुई होटलको चुक्ता पुँजी दुई अर्ब ६० करोड रुपैयाँ छ ।
नक्साल रहेको पाँच तारे होटल काठमाडौं मेरियट र ठमेलमा रहेको तीन तारे होटल फेयर फिल्ड मेरियट होटलले सर्वसाधारणमा आइपीओ निष्कासन गर्नका लागि हालै दुबै होटललाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको सञ्चालक अग्रवाललेबताए । पाँचतारे होटल काठमाडौं मेरियटको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ भने तीन तारे होटल फेयर फिल्डको चुक्ता पुँजी ६० करोड रुपैयाँको छ ।
काठमाडौं मेरियट होटल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । १३ तले होटलमा अन्डरग्राउण्ड पार्किङ र त्यसभन्दा मुनी एक तलामा क्याफेटेरिया, तालिमक कक्ष, मिटिङ कक्ष र लन्ड्रिलगायतका काम गरिन्छ । होटलमा २१४ वटा रुम छन् । जसमा २० वटा स्वीट रुम छन् ।
हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएका होटलको संख्या चार छ । जसमा पाँचतारे होटलहरु ओरियन्टल होटल्स (होटल ¥याडिसन), तारागाउँ रिजेन्सी होटल लिमिटेड (होटल हायात), याक एण्ड यति होटल र सोल्टी होटलले सर्वसाधारणका लागि आइपीओ निष्कास गरिसकेका छन् । जसमध्ये हाल याक एण्ड यति होटलको सेयर कारोबार नभएको लामो समयसम्म भइसक्यो ।