बैंकका कर्मचारी नै धमाधम विदेश पलायन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका कर्मचारीहरु देश छाडेर पलायन हुन थालेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन् । चितवनको भरतपुरमा शनिबार आयोजित नेपाल बैंकर्स संघको ३७ औं वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो चिन्ता जनाएका हुन् ।

तुलनात्मक रुपमा राम्रो सेवा सुविधा पाउने र ‘ह्वाइट कलर जब’ भनेर प्रख्यात बैंकिङ क्षेत्रकै कर्मचारी अहिले ब्यापक मात्रामा विदेश पलायन हुन थालेपछि वित्तीय क्षेत्रमा केही समययता चिन्ता जनाउन थालिएको थियो । बैंकको जागि छाड्दै विदेश जाने परिपाटी बढेकोप्रति बरिष्ठ बैंकरहरु नै पनि चिन्तित देखिन थालेका थिए । यही परिवेशमा गभर्नरले बैंकरसामु चासो व्यक्त गरेका हुन् ।

‘बैंकहरुले शनिबार पनि कर्मचारीलाई लदाउने (जबरजस्ति काम गर्न बाध्य पार्ने) मा काम गरे’ उनले भने, ‘काममा बढी घोटाइयो, तर कर्मचारीलाई पढाइएन । उनीहरुलाई तालिम कम भयो ।’ बैंकहरुले कर्मचारीको बृत्ति विकासमा खर्च गर्ने र उनीहरुको क्षमता अभिबृद्धि गराउनुको साटो बढी दोहन गर्न खोज्दा वित्तीय क्षेत्रबाट कर्मचारी पलायन हुन थालेको उनले बताए ।

 

उनले राष्ट्र बैंकको प्राथमिकता नै वित्तीय क्षेत्रलाई प्रभावकारी बनाउने तर्क भएको दोहोराए । पछिल्लो समय वित्तीय सेवामा ब्यापक सुधार भएको भन्दै उनले केही आँकडाहरु पनि प्रस्तुत गरे । ‘अहिले नेपालमा डिजिटल भुक्तानीमा ठूलो सुधार भएको छ’ उनले भने, ‘२ करोड १० लाख बैंक खाताहरु मोबाइल बैंकिङमा आबद्ध छन् । यो संख्या देशको कुल जनसंख्याको ७३ प्रतिशत बराबर हो ।’

प्रतिक्रिया