देउवा सरकारका यस्ता छन् १५ बुँदे प्रगति


काठमाडौं– सर्वोच्च अदालतको परमादेशबाट सरकार गठन भएको दुई महिना पुग्दा मन्त्रिपरिषदलाई पूर्णता दिनसमेत नसकेको आरोप लागिरहेका बेला सरकारले यसबीचमा भएका कामको १५ बुँदे सूची सार्वजनिक गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले छोटो अवधिमा सम्पन्न गरेका र अघि बढाएका कामहरुको सूची सार्वजनिक गर्दै एमाले नेतृत्वको सरकारले गरेका कामलाई नै उपलब्धीका रुपमा राखेका छन् ।

विष्णु पौडेलले अर्थमन्त्रीका रुपमा पेश गरेको बजेटमा राष्ट्रसेवक सेना प्रहरी, कर्मचारीलगायतको तलब २ हजार वृद्धि गरेका थिए । देउवा सरकारले उपलब्धीका रुपमा सार्वजनिक गरेको सूचीमा पनि कर्मचारीको तलब वृद्धि गरिएको भनेको छ । त्यस्तै सरकारले विद्युत् प्राधिकरणमा कुृलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्तिलाई पनि दुई महिनाको उपलब्धी भनेको छ ।

राजधानीका १० ठाउँमा सस्तोमा भोजनको व्यवस्था गरिएको सरकारले बताएको छ । तर कुन कुन ठाउँमा हो भन्ने जानकारी भने दिइएको छैन ।अति विपन्न गरिब घर परवारलाई दश हजार रुपैयाँका दरले राहत र क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिइएको सरकारले जनाएको छ ।

सरकारले एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल र प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल तथा संवाद गरिएको विषयलाई पनि यसबीचको उपलब्धी भनेको छ । त्यस्तै त्रिचन्द्र र घण्टाघर पुननिर्माणको निर्णयलाई पनि सरकारको उपलब्धीको सूचीमा राखिएको छ ।
 

प्रतिक्रिया