काठमाडौँ । जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले श्रेष्ठलाई ललितपुरस्थित निवासबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार जनआस्था डटकममा प्रकाशित एक समाचार सामग्रीलाई लिएर एक युवतीले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो। उनीमाथि ‘वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५’ विपरीतको कसुर गरेको आरोप लगाइएको छ। काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएर उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारलाई पक्राउ गरिएको भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित संघसंस्था तथा विभिन्न राजनीतिक दलका नेताहरूले आपत्ति जनाएका छन्। उनीहरूले समाचारमा चित्त नबुझेमा वा पत्रकार आचारसंहिता उल्लंघन भएको भए प्रेस काउन्सिल नेपालमार्फत कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै प्रहरीमार्फत पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेललगायतका नेताहरूले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु गैरकानुनी र निरंकुश शैली भएको टिप्पणी गरेका छन्। उनीहरूले पत्रकार श्रेष्ठलाई तत्काल र सम्मानपूर्वक रिहा गर्न सरकारसँग माग गरेका छन्।
नेपाल पत्रकार महासंघ, प्रेस युनियन, समाजवादी प्रेस संगठन, प्रेस चौतारी नेपाललगायत विभिन्न पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाहरूले पनि श्रेष्ठको पक्राउको भर्त्सना गरेका छन्। उनीहरूले समाचार प्रकाशनको विषयमा पत्रकारलाई पक्राउ गर्ने कार्यले प्रेस स्वतन्त्रताको अभ्यासलाई कमजोर बनाउने भन्दै श्रेष्ठको बिनासर्त रिहाइको माग गरेका छन्।