होर्मुज खुल्ने सम्भावनाले विश्व बजारमा राहत, समुद्री सुरक्षामा जोखिम कायमै

काठमाडौं । इरान र ओमानबीच होर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढेको सङ्केत देखिएको छ। यसले मध्यपूर्वमा जारी तनावको प्रभाव कम हुने र विश्व ऊर्जा बजारमा राहत पुग्ने आशा बढाएको छ। तर, यमननजिकै रेड सीमा भारतीय व्यापारिक जहाजमाथि भएको आक्रमणले क्षेत्रीय समुद्री सुरक्षाको जोखिम भने अझै कायमै रहेको देखाएको छ।

इरानले ओमानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा वार्तामा प्रगति भएको बताएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समेत सम्झौता ‘आज वा भोलि’ हुनसक्ने सम्भावना औँल्याएका छन्।

होर्मुज संकट समाधानका लागि पछिल्ला दिनमा अमेरिका, इरान, ओमान र कतारबीच कूटनीतिक सम्पर्क तीव्र भएको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत वार्ता गरेका छन्। कतारले सबै पक्षसँग सम्पर्क गरी युद्धको कूटनीतिक समाधान खोज्न मध्यस्थता गरिरहेको जनाएको छ।

कूटनीतिक प्रयासको मुख्य उद्देश्य होर्मुज हुँदै व्यापारिक तथा ऊर्जा ढुवानीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्नु हो। यद्यपि जहाजको सुरक्षित प्रवेश र निकास, मार्ग सञ्चालनको स्वरूप तथा इरानले लिन सक्ने शुल्कलगायत विषयमा अझै पूर्ण सहमति जुटिसकेको छैन।

होर्मुज जलडमरूमध्य विश्वकै महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक हो। यहाँ लामो समयसम्म जहाज आवतजावत अवरुद्ध भएमा तेल तथा ग्यासको आपूर्ति, अन्तर्राष्ट्रिय बजार र ढुवानी लागतमा ठूलो असर पर्न सक्छ।

होर्मुज पुनः सञ्चालन हुनसक्ने सम्भावनाले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा भने सकारात्मक प्रतिक्रिया देखिएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा तल झरेको छ। युद्धको उत्कर्षका क्रममा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो।

तेलको मूल्य घट्दा पेट्रोलियम पदार्थको लागतसँगै विद्युत् उत्पादन र ढुवानी खर्चमा समेत राहत पुग्न सक्छ। यसले विश्वभर वस्तु तथा सेवाको मूल्यमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

अमेरिकी सेयर बजारमा पनि होर्मुजसम्बन्धी कूटनीतिक प्रगतिले सकारात्मक प्रभाव पारेको छ। मंगलबार डाउ जोन्स औद्योगिक औसत ५४ हजारभन्दा माथि पुगेर नयाँ कीर्तिमानसहित बन्द भएको रिपोर्ट गरिएको छ। यद्यपि वार्ता असफल भएमा तेल तथा वित्तीय बजारमा पुनः अस्थिरता बढ्न सक्ने जोखिम कायमै छ।

यसैबीच अमेरिकी सेनाले जुलाईको मध्यदेखि हालसम्म ४५ वटा व्यापारिक जहाजलाई इरानविरुद्धको ‘ब्लकेड’ अन्तर्गत मार्ग परिवर्तन गराएको जनाएको छ। यसले होर्मुज संकट सैन्य विषयमा मात्र सीमित नरही अन्तर्राष्ट्रिय व्यापार र समुद्री यातायातका लागि समेत चुनौती बनेको देखाउँछ।

होर्मुजमा कूटनीतिक प्रगतिको खबर आइरहेकै बेला यमननजिकै रेड सीमा भारतीय व्यापारिक जहाजमाथि आक्रमण भएको छ। भारतीय झण्डावाहक ‘फाइज नुरे ओलिया’ नामको जहाज यमनको अल–हुदैदाहनजिकै आक्रमणमा परेको र पछि डुबेको रिपोर्ट छ।

आक्रमणपछि जहाजमा रहेका १४ जना चालकदलका सदस्यको उद्धार गरिएको बताइएको छ। उद्धार गरिएकामध्ये १३ जना भारतीय र एक जना यमनी नागरिक रहेको जनाइएको छ।

रिपोर्टअनुसार यमनको पश्चिमी तटबाट करिब १३ समुद्री माइल दक्षिणतर्फ विस्फोटक पदार्थ बोकेको डुङ्गाबाट जहाजमाथि आक्रमण गरिएको थियो। आक्रमणपछि जहाज गम्भीर रूपमा क्षतिग्रस्त भई डुबेको हो।

यस घटनाले रेड सी र बाब अल–मन्देब क्षेत्रमा व्यापारिक जहाजमाथि रहेको सुरक्षा जोखिम पुनः उजागर गरेको छ। यमनका हुथी विद्रोहीसँग सम्बन्धित आक्रमणका कारण यस क्षेत्रमा अन्तर्राष्ट्रिय जहाजहरूले लामो र वैकल्पिक समुद्री मार्ग प्रयोग गर्दै आएका छन्।

होर्मुजमा तनाव कम गर्ने कूटनीतिक प्रयास र रेड सीमा व्यापारिक जहाजमाथिको आक्रमणले मध्यपूर्वको समुद्री सुरक्षाको जटिल अवस्था देखाएको छ। होर्मुजमा तनाव कम भए पनि रेड सी र बाब अल–मन्देब क्षेत्रमा सुरक्षा चुनौती कायम रहे विश्वव्यापी आपूर्ति शृंखलामा जोखिम घट्ने छैन।

यी दुवै समुद्री मार्ग एसिया, मध्यपूर्व, अफ्रिका र युरोपबीचको व्यापार तथा ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिन्छन्। त्यसैले इरान–ओमान वार्तामा देखिएको प्रगतिलाई विश्व बजारका लागि सकारात्मक सङ्केतका रूपमा हेरिए पनि यसलाई मध्यपूर्वको युद्ध अन्त्यतर्फको निर्णायक मोडका रूपमा हेर्न भने हतार हुने देखिन्छ।

अबको मुख्य प्रश्न होर्मुज जलडमरूमध्य कहिले र कुन शर्तमा पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने हो। सुरक्षित समुद्री मार्गसम्बन्धी सहमति कार्यान्वयनमा आए विश्व तेल बजारमा थप राहत, ढुवानी लागतमा कमी र लगानीकर्ताको विश्वास बढ्न सक्छ।

तर वार्ता असफल भए वा समुद्री मार्गमा पुनः ठूलो सैन्य तनाव उत्पन्न भए तेलको मूल्य, बीमा शुल्क, जहाजको मार्ग र विश्वव्यापी आपूर्ति शृंखलामा पुनः ठूलो दबाब पर्न सक्छ।

यस अर्थमा होर्मुजमा अघि बढिरहेको कूटनीतिक प्रयास र रेड सीमा भइरहेको समुद्री हिंसा मध्यपूर्व युद्धको आर्थिक तथा सुरक्षा प्रभावका दुई फरक तस्बिर बनेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय