भारत–पाकिस्तानबीच शान्तिको संकेत, तर सीमामा अझै तनाव

दक्षिण एसियाका दुई आणविक शक्तिहरू भारत र पाकिस्तानबीचको चर्किएको तनाव शनिबार युद्धविरामको सहमतिसँगै केही हदसम्म थामिएको छ। जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि चुलिएको द्वन्द्व समाधान गर्न दुवै देशका सैन्य सञ्चालन महानिर्देशकहरूबीच टेलिफोन संवादपछि युद्ध रोक्ने निर्णयमा पुगेका हुन्। भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार, शनिबार अपराह्न ३:५० बजे भएको संवादपछि दुवै पक्ष साँझ ५ बजेबाट थल, जल र आकाशमार्गमा सबैखाले सैन्य गतिविधि बन्द गर्न सहमत भएका छन्।

भारतका विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इशाक दारले पनि सामाजिक सञ्जालमार्फत युद्धविरामको पुष्टि गरेका छन्। अमेरिकी मध्यस्थतामा भएको यो सहमतिलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेका हुन्। उनले ‘ट्रुथ सोसल’मा भारत र पाकिस्तान युद्धविराममा सहमत भएको उल्लेख गर्दै दुवै देशलाई विवेकपूर्ण निर्णयका लागि धन्यवाद दिएका छन्। अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले पछिल्ला ४८ घण्टामा भएका कूटनीतिक प्रयासका क्रममा दुवै देशका शीर्ष नेताहरूसँग निरन्तर संवाद गरिएको जानकारी दिएका छन्।

युद्धविरामको घोषणा हुनु अघिको अवस्थाले भने स्थिति भयावह बनाएको थियो। पहलगामको हमलापछि भारतले पाकिस्तानविरुद्ध हवाई आक्रमण गरी ‘अपरेसन सिन्दूर’ संचालन गरेको थियो। पाकिस्तानले सो आक्रमणमा सर्वसाधारण मारिएको दाबी गर्दै जवाफस्वरूप आक्रामक कदम चालेको थियो। दुवैतर्फबाट थुप्रै ड्रोन हमला, मिसाइल प्रहार र गोलीबारीका घटनाहरू भएका थिए, जसमा दर्जनौंको ज्यान गएको भारतीय र पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

युद्धविरामको घोषणा भएसँगै पनि शनिबार राति श्रीनगरमा विस्फोटको आवाज सुनिएको र सीमावर्ती क्षेत्रमा ब्ल्याकआउट गरिएको खबरहरू आएका छन्। भारतले सहमतिपछि भएको उल्लंघनप्रति गम्भीर चासो व्यक्त गर्दै आवश्यक सुरक्षा जवाफ दिइरहेको जनाएको छ। विदेश सचिव मिस्रीले पाकिस्तानलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया