‘लोकतन्त्र, पत्रकारिता र नयाँ चुनौती’माथि लोमन्थाङमा अन्तर्राष्ट्रिय बहस

काठमाडाैं - नेपाल प्रेस युनियनको आयोजनामा ऐतिहासिक र पर्यटकीय नगर लोमन्थाङमा ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुन लागेको छ। वैशाख २७ देखि ३० गते हुने समिटमा नेपालको विभिन्न राजनीतिक दलका नेतादेखि पत्रकार, मिडिया विज्ञ, अनुसन्धातासमेतको सहभागीता रहने आयोजकले जनाएको छ।

समिटको मुख्य उद्देश्य पत्रकारिता र सञ्चार माध्यममा देखा परेका समसामयिक चुनौती, अवसर, र पत्रकारको भुमिका तथा उत्तरदायित्वमाथि बहस गर्नु हो। नेपालको इतिहासमा पहिलो पटक यति उच्च हिमाली क्षेत्रको नगरमा यस्तो प्रकारको अन्तर्राष्ट्रिय मिडिया कार्यक्रम हुन लागेको आयोजकको दाबी छ।

समिटमा दक्षिण एशियाली पत्रकार संघका प्रतिनिधि, भारतीय मिडिया अनुसन्धान केन्द्र, तथा विभिन्न विश्वविद्यालयका विज्ञहरूको सहभागिता रहनेछ। दुई दिने सम्मेलनको मुख्य विषयवस्तु ‘राजनीतिक दल, नागरिक समाज, लोकतन्त्र र पत्रकारिता को कतिपय दूरी को कति टाढा?’ भन्ने शीर्षकमा आधारित हुनेछ।

कार्यक्रममा 'जलवायु संकट र पत्रकारिता’, 'एआई र न्यु मिडिया इन साउथ एशिया’ तथा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता: अवस्था तथा चुनौती’ जस्ता विषयमा पनि छुट्टाछुट्टै सत्र हुनेछन्। समिटको औपचारिक उद्घाटन वैशाख २७ गते काठमाडौंमा हुने बताइएको छ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समिट ऐतिहासिक हुने भन्दै यसले लोमन्थाङ क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया