व्याजदर ओरालो लाग्दा पनि बढ्न सकेन ऋण लगानी

काठमाडाैं - ब्याजदर निरन्तर ओरालो लाग्दा पनि सो अनुसारको ऋण लगानी नहुँदा अहिले बैंकिङ क्षेत्र तनावमा छ । 

लगानी योग्य रकम १० खर्ब हाराहारी बाँकी रहँदा बैंकको खर्च बढेको हो । कुनै समय ब्याज निकै महंगो भो भनेर लगानी हुन् नसकेको बताइए पनि ब्याजदर घट्दा समेत लगानीमा उल्लेख्य सुधार हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह ११.५ प्रतिशत हुने अपेक्षा गरेको थियो तर सो लक्ष अनुसार भने हुन सकेको छैन । 

आर्थिक गतिविधि अपेक्षाकृत विस्तार हुन नसक्दा चालु आव पनि कर्जा विस्तार अपेक्षित नहुने भएको छ । सरकारले चालु आव ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसहित बजेट प्रस्तुत गरेको थियो ।

सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न कर्जा विस्तार लक्ष्य ११.५ प्रतिशत र विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत हुने लक्ष्यसहित राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो ।

मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य मौद्रिक नीतिले लिएको थियो । विगतमा उच्च कर्जा विस्तार भए पनि सोही अनुपातमा कुल गार्हस्थ उत्पादन (जीडीपी) बढ्न नसकेको भन्दै राष्ट्र बैंकले उच्च कर्जा विस्तार नियन्त्रण गर्न चालु आवबाट ‘काउन्टर साइक्लिकल बफर’ कार्यान्वयनमा ल्याएको थियो ।

प्रतिक्रिया