पर्यटक आगमनमा उत्साहजनक वृद्धि, जुनमा १९.५ प्रतिशतले बढ्यो

काठमाडौं । सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले अध्यागमन विभागको तथ्यांकका आधारमा सार्वजनिक गरेको विवरणअनुसार हवाईमार्गबाट नेपाल आउने विदेशी पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो।

गत वर्षको जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ पर्यटक नेपाल आएका थिए। त्यसको तुलनामा पनि यस वर्षको जुन महिनामा पर्यटक आगमन २२.०१ प्रतिशतले बढेको बोर्डले जनाएको छ।

जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकका ४८ हजार २५४ जना रहेका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो। भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक नेपाल आएका छन्।

अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो। यसमध्ये चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल आएका छन्।

युरोपेली मुलुकमध्ये बेलायतबाट २ हजार ५००, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटक नेपाल आएका छन्। त्यस्तै, अमेरिकी महादेशबाट कुल १३ हजार ११९ पर्यटक नेपाल आएका छन्। यसमध्ये संयुक्त राज्य अमेरिकाबाट ११ हजार ८३६, क्यानडाबाट १ हजार ११, ब्राजिलबाट १४० र मेक्सिकोबाट १३२ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत तथा सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो। यस क्षेत्रमा अष्ट्रेलियाबाट २ हजार ८९६ र न्यूजिल्यान्डबाट १९४ पर्यटक नेपाल आएका छन्। यसैगरी, अफ्रिकाबाट २९२ तथा मध्यपूर्वबाट ६७४ पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाका अनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक पर्यटन गन्तव्यका रूपमा बनेको सकारात्मक छविका कारण पछिल्ला महिनामा पर्यटक आगमन निरन्तर बढिरहेको छ।

बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोपलगायत प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय