चारदिने चीन भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आइतबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने तथा द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल हुने जनाइएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनका अवसरमा उनले चिनियाँ उद्यमी तथा व्यवसायीसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम छ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले स्वागत समारोहसमेत आयोजना गर्नेछ। उक्त कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय