सरकार र हिन्दू सम्राट सेनाबीच समझदारी, आन्दोलन फिर्ता

काठमाडौँ । सरकार र हिन्दू सम्राट सेना नेपालबीच विभिन्न मागका विषयमा समझदारी भएको छ। जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको वार्तापछि आन्दोलनका कार्यक्रम फिर्ता लिने र माग सम्बोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको हो।

जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा चलेको वार्तामा सरकारी टोली र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच छलफल भएको थियो। वार्तापछि हिन्दू सम्राट सेना नेपालले यसअघि पेश गरेको १३ बुँदे मागमा थप ६ बुँदा समावेश गरी १९ बुँदे प्रस्ताव सरकारलाई बुझाएको जनाएको छ।

हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार सरकारले मागहरूलाई सकारात्मक रूपमा लिँदै कार्यान्वयनका लागि उपयुक्त समयमा समिति गठन गर्ने प्रतिबद्धता जनाएको छ।

समझदारीअनुसार आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने विषयमा पनि सहमति भएको छ।

सरकारबाट माग सम्बोधन हुने विश्वास दिलाइएपछि हिन्दू सम्राट सेना नेपालले जारी आन्दोलन र विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ।

गृहमन्त्री गुरुङले सरकारले यसअघि प्राप्त १३ बुँदे तथा शुक्रबार बुझाइएको थप ६ बुँदे गरी कुल १९ बुँदे मागपत्र औपचारिक रूपमा ग्रहण गरेको जानकारी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय