काठमाडौँ, साउन २५ – साउन २६ गते सोमबार चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती आयोजना हुने भएको छ। साउन महिनाको अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरी हिल्स लिमिटेडले भक्तजनका लागि भजन–कीर्तन र विशेष आरती कार्यक्रम राख्ने भएको हो।
कार्यक्रम अन्तर्गत दिनभर मन्दिर परिसरमा भक्तिमय वातावरणमा भजन–कीर्तन हुनेछ भने साँझ ६:३० बजे विशेष महाआरती सम्पन्न हुनेछ। चन्द्रागिरी हिल्सले सहभागी भक्तजनको सहजताका लागि टिकटमा विशेष छुटको व्यवस्था पनि गरेको छ। सोमबार दिइने २५ प्रतिशत छुटबाहेक साँझ ४ बजेपछि केबलकारको टिकट मूल्य मात्र रु. ४०० हुनेछ।
यसअघि साउन महिनाका तीनै सोमबार विशेष कार्यक्रम र महाआरती सम्पन्न भइसकेका छन्। भक्तजनको उत्साहजनक सहभागिताले प्रेरित भई अन्तिम सोमबारलाई अझ विशेष रुपमा मनाइने चन्द्रागिरी हिल्सले जनाएको छ। कम्पनीले सबै श्रद्धालुहरूलाई समयमै उपस्थित भई दर्शन, भजन र महाआरतीमा सहभागी भई अध्यात्मिक ऊर्जा प्राप्त गर्न आग्रह गरेको छ।