काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि परेको लगातार वर्षाका कारण आइतबार दिउँसो २ बजेसम्ममा ४३ जनाको ज्यान गएको हो।
प्राधिकरणका अनुसार इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्। पहिरोमा फसेका मध्ये एक गर्भवतीसहित दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
त्यसैगरी पाँचथरमा पहिरोमा परेर १ जना, खोटाङमा खोलाले बगाएर १ जना, उदयपुरमा खोलाले बगाएर १ जना र रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ। अहिलेसम्म बाढीपहिरोका घटनामा ५ जना बेपत्ता र १२ जना घाइते भएको प्राधिकरणले जनाएको छ।
यसैबीच भक्तपुरबाट नुवाकोट हुँदै रसुवाको लाङटाङ जाँदै गरेका दुई युवतीसहित चार जना शनिबार बेलुकी बेरिङ खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका छन्। १६ जनाको समूहमा लाङटाङ घुम्न निस्किएका तीमध्ये भक्तपुरका चार जना युवायुवती गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्सामा आएको बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार बेपत्ता हुनेहरूमा मध्यपुरठिमी नगरपालिकाकी संकृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का रवि श्रेष्ठ रहेका छन्। उनीहरूको खोजी कार्य अहिले पनि जारी रहेको पन्थीले जानकारी दिए।