सरकारको गोलीबाट निहत्थाको ज्यान जानुहुँदैन: थापा

काठमाडौं । गगनकुमार थापा ले भदौ अन्तिम सातामा भएको जेनजी आन्दोलनको सन्दर्भ उठाउँदै मुलुकमा दुई प्रकारका अतिवादी सोच देखापरेको टिप्पणी गरेका छन्। बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली र बालेन्द्र साह लाई लक्षित गर्दै आन्दोलनलाई पूर्ण रूपमा अस्वीकार गर्ने र अर्कोतर्फ आन्दोलनको आगोमा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति दुवै अतिवादी भएको बताएका हुन्। उनले यस्ता सोचले फेरि मुलुकलाई दुर्घटनातर्फ धकेल्न सक्ने चेतावनी दिए।

सभापति थापाले नेपाली काँग्रेस यी दुवै अतिवादी धारसँग असहमत रहेको स्पष्ट पार्दै अब सरकारको गोलीबाट कुनै निहत्था नागरिकले ज्यान गुमाउन नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। उनले मुलुकमा हिंसा र अराजकता दुवै अस्वीकार्य भएको उल्लेख गर्दै राज्य र नागरिक दुवैले संयमित भूमिका खेल्नुपर्ने बताए।

उनले भदौ २३ र २४ गतेका घटनालाई स्मरण गर्दै एक प्रवृत्तिले ती घटनालाई पूर्ण रूपमा इन्कार गरेर त्यसअघि देश पूर्ण रूपमा ठीकठाक अवस्थामा रहेको दाबी गर्ने गरेको बताए। अर्को प्रवृत्तिले भने ती घटनामा खुलेर नबोली आगोमा पेट्रोल थपेर आफ्नो राजनीतिक फाइदा मात्र खोज्ने गरेको उनको आरोप थियो। दुवै सोच अतिवादी भएको उल्लेख गर्दै उनले नेपाली काँग्रेस फरक धारका साथ उभिएको दाबी गरे।

थापाले अब कुनै पनि मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन नसक्ने दाबी गर्दै शान्ति, स्थायित्व र लोकतान्त्रिक मूल्यको रक्षा गर्न सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्ने बताए।

प्रतिक्रिया