अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा चीनसँगको व्यापार युद्ध झन् चर्काएका छन्। पहिलो कार्यकालमा पनि चीनसँग व्यापार विवाद सुरू गरेका ट्रम्पले हालै एकपछि अर्को भन्सार दर बढाउने निर्णय गर्दै द्वन्द्वलाई नयाँ उचाइमा पुर्याएका हुन्।
ट्रम्पले सोमबार चिनियाँ उत्पादनमा १०४ प्रतिशत भन्सार लगाउने घोषणा गरेपछि चीनले पनि अमेरिकी वस्तुहरूमा ८४ प्रतिशत भन्सार दर तोकेको थियो। त्यसको प्रतिक्रियामा ट्रम्पले बिहीबार भन्सार बढाएर १४५ प्रतिशत पुर्याएका थिए, जसको जवाफमा चीनले शुक्रबार अमेरिकी उत्पादनमा १२५ प्रतिशत भन्सार लगाउने घोषणा गर्यो।
चिनियाँ मन्त्रिपरिषद्को भन्सार महसुल आयोगले अब भने अमेरिकासँगको व्यापार विवादलाई थप नचर्काउने संकेत दिएको छ। हङकङस्थित साउथ चाइना मर्निङ पोस्ट अनुसार चीनले अब अमेरिकी सामानमा थप भन्सार नलगाउने बताएको छ। आयोगले अमेरिका संख्याको खेलमा रमाइरहे पनि चीनले त्यसलाई बेवास्ता गर्ने नीति अपनाएको जनायो।
चीनका अनुसार अहिलेको भन्सार दरमै अमेरिकी वस्तुहरू चिनियाँ बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन्, त्यसैले चीनले भन्सार थप गर्नुको आर्थिक अर्थ नभएको स्पष्ट पारेको छ।
ट्रम्पले चीनमाथि व्यापार युद्ध चर्काउनुको कारण अमेरिकालाई व्यापार घाटा भएको आरोप हो। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार सन् २०२४ मा चीनसँग अमेरिका दुई खर्ब ९५ अर्ब ४० करोड डलर घाटामा गएको थियो। गत वर्ष दुई देशबीच पाँच खर्ब २८ अर्ब ४० करोड डलरको व्यापार भएको थियो, जसमा चीनले अमेरिकालाई चार खर्ब ३८ अर्ब ९० करोड डलरको सामान निर्यात गरेकामा अमेरिका चीनलाई केवल एक खर्ब ४३ अर्ब ५० करोड डलरको मात्र सामान निर्यात गर्न सफल भएको थियो।
आयात/निर्यात विवरण हेर्दा, अमेरिका चीनबाट मुख्यतया इलेक्ट्रोनिक्स, मेसिनरी, उपभोग्य वस्तुहरू, औषधि र अटो पार्ट्स आयात गर्छ। स्मार्टफोनदेखि ल्यापटप, खेलौना, फर्निचर र सोलार प्यानलसम्मका सामग्रीमा चीनको दबदबा छ।
उता, चीनले अमेरिका बाट कृषि उत्पादन (भटमास, मकै, सुँगुरको मासु), हवाई जहाज, इन्धन (एलएनजी, कच्चा तेल), अत्याधुनिक प्रविधिमा प्रयोग हुने चिप्स, आणविक उपकरण र रासायनिक सामग्रीहरू आयात गर्छ।
पक्ष | प्रमुख आयात वस्तुहरू | भन्सार दर हाल |
---|---|---|
अमेरिका (चीनबाट) | इलेक्ट्रोनिक्स (स्मार्टफोन, ल्यापटप), मेसिनरी, उपभोग्य वस्तु, औषधि, अटो पार्ट्स | १४५% |
चीन (अमेरिकाबाट) | कृषि उत्पादन (भटमास, मकै), हवाईजहाज, इन्धन, चिप्स, रासायनिक वस्तुहरू | १२५% |