ग्यास अभावमा उपभोक्तालाई राहत : काठमाडौंका सात स्थानबाट आज सिलिण्डर बिक्री

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ।

नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर तोकिएका बिक्री केन्द्रमा गई ग्यास खरिद गर्न सक्नेछन्।

निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै, पशु सेवा शाखा, चपली, बुढानीलकण्ठबाट नेपाल, एचपी र भानु ब्रान्ड उपलब्ध हुनेछन्।

राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्री गरिनेछ। नयाँ बजार जुडो हल परिसरबाट नेपाल, एचपी र ओम तथा तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

त्यसैगरी, चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ।

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र नियमित बिक्रेतामार्फत समेत वितरण जारी रहेको जनाएको छ। अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रमा आउन निगमले आग्रह गरेको छ।

यसअघि शनिबार काठमाडौंका पाँच स्थानबाट ६ हजार ८०२ थान ग्यास सिलिण्डर बिक्री गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय