सीमा विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण : ‘ब्रिटिसलाई मध्यस्थ बनाउन खोजेको होइन’

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादका विषयमा संसद्मा दिएको अभिव्यक्तिबारे उठेका प्रश्नको जवाफ दिँदै आफूले ब्रिटेनलाई मध्यस्थकर्ता बनाउन खोजेको नभएको स्पष्ट पारेका छन्।

आइतबार चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कालापानी र लिपुलेक क्षेत्र नेपालकै भएको पर्याप्त प्रमाण रहेको बताए।

‘हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ। यदि ब्रिटिस शासनकालका अभिलेख आवश्यक पर्छन् भने ती पनि ल्याउन तयार छौँ भनेका हौँ,’ उनले भने, ‘हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ।’

प्रधानमन्त्री शाहले नेपालले आफ्ना छिमेकी मुलुकसँग प्रमाण र तथ्यका आधारमा संवाद गरेर सीमा समस्या समाधान गर्ने बताए। उनले नेपालको राष्ट्रियताप्रति कुनै शंका नगर्न पनि आग्रह गरे।

‘हामी हाम्रा छिमेकीसँग आफैँ कुरा गरेर समस्या समाधान गर्छौँ। हामीसँग प्रमाण छ,’ उनले भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन।’

यसअघि प्रतिनिधिसभामा भारतसँगको सीमा विवादबारे बोल्दै प्रधानमन्त्री शाहले आवश्यक परे ब्रिटिसकालीन प्रमाणसमेत प्रस्तुत गर्न सकिने बताएका थिए। उक्त अभिव्यक्तिपछि सीमा विवादमा तेस्रो पक्षको भूमिका खोजिएको हो कि भन्ने प्रश्न उठेको थियो।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय