भारतको उच्च चापीय प्रणालीले देशभर तापक्रममा वृद्धि

काठमाडौंसहित देशका अधिकांश क्षेत्रमा पछिल्ला केही दिनयता तापक्रममा उल्लेखनीय वृद्धि भएको छ। माघ लागेसँगै बढ्न थालेको तापक्रमले अहिले झन् तातो महसुस हुने अवस्था सिर्जना गरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले हाल अधिकतम र न्यूनतम तापक्रम दुवै उच्च रहेको जनाएका छन्। उनले लामो समयदेखि वर्षा नपरेको र भारतमा उच्च चापीय प्रणालीको प्रभावका कारण तापक्रम बढेको बताए। अधिकारीका अनुसार उच्च चापीय प्रणालीले गर्मी बढाउँछ भने न्यून चापीय प्रणालीले चिसो र बादल ल्याउँछ। हाल भारतको उच्च चापीय प्रणालीले असर गरे पनि त्यो केही दिनमा हट्ने सम्भावना रहेको छ।

आज विभागले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियससम्म झरेको थियो। देशभरका २१ मापन केन्द्रहरूमध्ये ११ केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि पुगेको छ।

दिपायलमा आजको अधिकतम तापक्रम २७.२ डिग्री र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ। भने, सबैभन्दा चिसो जुम्लामा माइनस ३.५ डिग्री तापक्रम रहेको छ। मौसमविद्हरूका अनुसार अब तापक्रम थप उकालो लाग्ने समय नजिकिएको छ।

प्रतिक्रिया