एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो। सुदूरपश्चिमले दिएको सामान्य लक्ष्य लुम्बिनीले सहज रूपमा पछ्यायो। लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले आक्रामक प्रदर्शन गर्दै १३ बलमा ४२ रन बनाए। उनका अलावा निरोशन डिक्वेलाले ११ रन बनाए भने दिलिप नाथ एक रनमा अविजित रहे। कप्तान रोहित पौडेल १८, डार्सी सर्ट १३ र सन्दीप जोरा शून्य रनमा आउट भए। सुदूरपश्चिमका बलरमध्ये हेमन्त धामीले दुई विकेट लिए भने अभिनास बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट झारे।

 

यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमै ८५ रनमा अलआउट भयो। टोलीका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हर्मित सिंह र स्कट कुगेइलेनले समान १०–१० रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीका कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक पूरा गरे। उनले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार तीन विकेट लिएका हुन्। रोहित एनपीएल इतिहासमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि काठमाडौँ गोर्खाजका शाहव आलमले यस्तो कीर्तिमान बनाएका थिए। लुम्बिनीका शेर मल्ल र रुवेन ट्रम्पलम्यानले तीन–तीन विकेट लिए भने तिलक भण्डारीले एक विकेट हात पारे।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय