काठमाडौं । राहदानी विभागले साउन १४ गतेदेखि साउन २२ गतेसम्म सेवा समय विस्तार गर्ने भएको छ। विभागले बुधबार सूचना जारी गर्दै बिहान ७ बजेदेखि राति ९ बजेसम्म दुई सिफ्टमा राहदानी सेवा उपलब्ध गराइने जनाएको हो।
विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। साउन २२ गतेसम्म यो व्यवस्था कायम रहनेछ भने त्यसपछि नियमित समयअनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रवाह गरिने विभागले जनाएको छ।
यस अवधिमा पर्ने साउन १५ र १७ गतेका सार्वजनिक बिदामा पनि विभाग खुला रहनेछ। ती दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राहदानी सेवा उपलब्ध गराइनेछ।
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न सेवा समय विस्तार गरिएको राहदानी विभागले जनाएको छ।